सोमनाथ दाहाल
छन्द :- शार्दूलविक्रीडित
आफैँ नष्ट भएर जान्छ छिनमा आफैँ पुनः बन्दछ
दुःखी मुत्यु हुने घडी रगतले केही अझै गन्दछ ।
मौका हाे दिनु पर्छ मानव भई सम्बन्ध गाढा हुन
बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।
१
याे बग्दैन नदी पवित्र जलमा पाक्दैन भाँडो भरी
पर्दैनन् असिना सरी गगनका फल्दैन ठूला घरी ।
रोगीको अझ आयु बढ्छ जनता जागौँ त्यसैले दिन
बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।
२
मान्छे पुण्य मुहान धर्म भरको त्याे भक्ति भन्दा बडा
राम्रो मानिस बन्न आज सबले यी हात पारौँ खडा ।
रोगीले मनकामना सफलता पार्नेछ केही छिन
बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।
३
गर्दैनन् जन रक्तदान डरले मिथ्या कुरामा परी
हामी स्वस्थ भएर गाउँ घरका पारौँ निरोगी बढी ।
हाम्राे स्वार्थ छ रक्तदान दिनुमा रोगी भएमा लिन
बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।
४
धेरै तागत प्राप्त हुन्छ यसमा छैनन् अनुष्ठानमा
नाप्दा पाउँछ शक्तिको सफलता ठूला बडा दानमा ।
भोग्नै पर्छ अवश्य जीवन हुँदा रोगी हुने ती दिन
बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।
५
लेटाङ्ग न.पा. – २ मोरङ्ग ( हाल धरान पिण्डेश्वर )