Home / Uncategorized / एम्बुलेन्स प्रयोग गरेर लागुऔषध कारोबार गर्ने तीनजना पक्राउ

एम्बुलेन्स प्रयोग गरेर लागुऔषध कारोबार गर्ने तीनजना पक्राउ

चितवन । एम्बुलेन्स प्रयोग गरेर लागुऔषध कारोबार गर्ने तीनजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । 

बिरामीको नाटक गरी एम्बुलेन्स चालकलाई झुक्याएर लागुऔषध कारोबार गरेको खुल्न आएको  हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १० का विनोद रानामगर, ११ का प्रवीण घर्ती र वडा २४ का अनुप तिमिल्सिना छन् । 

चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार चैत २४ गते भरतपुरको आँखा अस्पतालबाट बिरामीको नाटक गरी नवलपरासीको बर्दघाटसम्म बिरामी पुर्याउने भन्दै कारोबारीले एम्बुलेन्स नै रिर्जभ गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

कारोबारीमध्येका नक्कली बिरामी विनोद राना मगर र अर्का प्रवीण घर्तीले लु.२च ६६५९ नम्बरको एम्बुलेन्सलाई प्रयोग गरी अर्को बिरामीसमेत ल्याउने भन्दै त्यहाँबाट प्रतिबन्धित लागुऔंषध लिई फर्किएको प्रहरीको भनाइ छ । 

उनीहरूको साथबाट प्रहरीले १८७ ट्याब्लेट नाइट्राजेपाम, ९४ थान इस्पास्म प्रोक्सिभिन, ४० पिस ट्रमाडोल र कोरेक्स १ लिटरसहित पक्राउ गरेको हो ।

प्रारम्भिक सोधपुछका क्रममा अनुप तिमिल्सिनाले लागुऔषध लिन पठाएको खुलेपछि भरतपुर ११ बाटै उनलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *