काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझै सशक्त बनाउने सहमति भएको छ ।
शुक्रबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षीबीच कोरोना भाइरसविरुद्धको सहकार्य लाई अझै सशक्त बनाउने सहमति भएको हो ।
टेलिफोन वार्तामा लकडाउनका कारण एकअर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको ओलीले ट्विटमार्फत जानकारी दिएका छन् ।
उनले भारतीय प्रधानमन्त्री मोदीसँग आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने विषयमा पनि छलफल भएको उल्लेख गरेका छन् ।
“भारत सरकारले उपलब्ध गराउने औषधीलगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ,” प्रधानमन्त्री ओलीले अर्को ट्विटमा भनेका छन् ।
उता भारतीय समकक्षी नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत नेपालका प्रधानमन्त्रीसँग कुरा भएको उल्लेख गर्दै कोरोनाभाइरसविरुद्धको सहकार्यलाई अझै सशक्त बनाउने कुरामा ऐक्यवद्धता जनाएको उल्लेख गरेका छन् ।






