चितवन : चितवनमा रहेका ३४८ एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ।
एड्स हेल्थ फाउन्डेसनको सक्रियतामा यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा नीति तथा कार्यक्रममा राखेर उनीहरुको स्वास्थ्य बिमा गरिएको हो।
फाउन्डेसन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बिमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित रहेका छन्। संक्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। बिमा गरिएका परिवारमा एकभन्दा बढीसमेत संक्रमित रहेको सापकोटाले बताए।
जिल्लामा अहिले एक हजार ९२६ संक्रमित छन्। तीमध्ये १४७ बालबालिका हुन्। फाउन्डेसनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुषसहित ९६७ रहेका छन्।
सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स संक्रमण भेटिएको छ। थपिएका व्यक्तिमध्ये चार बालबालिका रहेका छन्। आठ हजार ७६२ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएका हुन्। सन् २०२० मा संक्रमितमध्ये १५ को मृत्यु भएको छ। मृत्यु हुनेमा एक कोरोना संक्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन् ।






