Sports

तराईमा राष्ट्रियताको कमी रहेको बिबादास्पद अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पाको राजीनामा माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कारबाहीको माग गर्दै चार जिल्ला फुटबल संघले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले केही दिनअघि एक अन्तर्वार्ताका क्रममा तराईका चार जिल्लामा राष्ट्रियताको कमी रहेको भन्दै राष्ट्रियता सिकाउन नेपाली सेनासँगको सहकार्यमा ग्रासरुट कार्यक्रम सुरु गरेको विवादित तर्क दिएका थिए ।

 उनको अभिव्यक्ति बिरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले तीब्र बिरोध गरेका थिए ।

उक्त तर्ककै कारण उनीमाथि बुधबार संसद्‍मा सांसद विमलप्रसाद श्रीवास्तवले कारबाही गर्न माग गरेका थिए । उनले शेर्पाले तराईका जनताको भावनामा चोट पुर्याएको बताएका थिए ।

एन्फाले अनियमितता, त्रुटिपूर्ण र नेपालको कानुन विपरीत काम गर्दै आएको भन्दै अध्यक्ष शेर्पालाई कारबाहीको माग गरिएको हो । 

फिफा, एएफसी र एन्फाको समेत विधानविपरीत काम गरेको भन्दै काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष दीपक खतिवडा र ललितपुरका अध्यक्ष पुरुषोत्तम थापाले प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।

त्यस्तै वर्तमान नेतृत्वविरुद्ध असन्तुष्ट रहेका चारवटै जिल्ला फुटबल संघले युवा तथा खेलकुद मन्त्रालयमा समेत पत्र दिएको एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *