काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्व्को नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको स्पष्ट पारेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने, “जनताको मत लिने गरौं। हरेक विषयमा जनतमसंग्रह गरौं भनेका छौं। यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ। यो प्रकारणको लोकतान्त्रिक समाज बनाऔं। अहिले हामी सरकारसँग छलफल गर्छौं। सेट अफ आईडियाज छ। हामी राख्छौं। खाका छ। हामी भन्छौं। नयाँ दिशामा जानुपर्छ।”
उनले जनमत संग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको सुनाए। उनले अघि भने, “सबै भन्न सम्भव छैन। खास–खास विषयमा हुन्छ। अहिले हामी सरकारसँग छलफलमा छौं। संसदीय व्यवस्था भन्दापनि लोकतन्त्र मूल कुरा हो। यसको विकसित कुरा गरेका छौं।”
उसो भए तपाईँहरुसँग अत्याधुनिक वा आधुनिक हतियार छैन ? त्यही सुतली बम मात्रै हो ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने, “हामीसँग हतियार छैन। हामीले हतियारको कुरा गरेको होइन। हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो। रेभोलुसन भनेको वार होइन । रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो। एकीकृत जनक्रान्ति हो।”
उनले भने, “मलाई त सम्मानपूर्वक व्यवहार गरियो । कतिपय कमरेडेलाई टर्चर गरिएको कुरा आएको छ । बरु, अस्ति अदालतमा प्रहरीले धरपकड गरेको हो। सरकारसँग भएको सहमतिमै कार्यकर्ता छोड्ने र मुद्दा फिर्ता गने कुरा छ। तीन बुँदे सहमतिको बुँदा नम्बर तीनमा त्यो कुरा उल्लेख छ। त्यो तुरुन्तै हुन्छ ।”
उनले आफूलाई पटक–पटक हिरासतमा राखिए पनि कुनै यातनाको अनुभव नभएको सुनाए।






