काठमाडौं- भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ। ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न अपिल गरेका छन् । अपिलमा उनले ‘प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन’ समेत आमनेता कार्यकर्तामा आग्रह गरेका छन्।
अपिलमार्फत् देउवाले प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रनुपरेको उल्लेख गरेका छन्।
देउवाले अपिलमा ‘नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलाएको समेत जनाएका छन् । ‘सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो, नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु स्वभाविक हक हो, अतः नेपाली कांग्रेसले सडकदेखि संसद्सम्म अब सरकारलाई तीव्र दबाब दिनुछ,’ अपिलमा भनिएको छ।
कोरोना कहरबीच जनता मर्दै गर्दासमेत स्वास्थ्य सामग्री खरिदमा सरकार भ्रष्टाचारमा लिप्त भएको, सबै अधिकार आफैंमा केन्द्रित गरेर जनविरोधी निर्णय गर्दै प्रधानमन्त्री अघि बढेको, महिला हत्या तथा हिंसाका घटना बढेको अपिलमा उल्लेख छ ।
‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ पाइन्छ भन्दै अपिलमा उल्लेख गरिएको छ।






