Home / Nepal / News / सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा पर्वको आज दोस्रो दिन

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा पर्वको आज दोस्रो दिन

बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा पर्व शुक्रबारदेखि सुरु भएकोे छ। चार दिनसम्म मनाइने यो पर्वमा आज दोस्रो दिन ‘नानी गौरा’ मा ब्रतालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न)लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन्।

सवाँ, अपामार्गलगायत वनस्पति प्रयोग गरेर नुहाउनाका साथै गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका–३, श्रीकोटका गोल्मा भाटले बताए।

बिरुडा पञ्चमीका दिन भिजाइएका बिरुडाले गौराको पूजा गरिनाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । आज दिउँसो गौरादेवीको पूजा गरेपछि ब्रतालु महिलाले साँझपख मिठोमसिनो खाएर बिरुडा र फलफूलसहितको सगुन फाग गाउँछन् ।

पौराणिककालमा गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवलाई स्वामी बनाउन सफल भएकीले त्यसै बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए ।

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याइनाका साथै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो समर्पण गर्ने र अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ ।

तागाधारी पुरुषले जनै धारण गरेजस्तै महिलाले गौराको समयमा दुबधागो धारणा गर्ने गर्छन् । गौराका समयमा सामूहिक रूपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायत सांस्कृतिक खेल खेलिने गरिएकामा कोरोनाभाइरसका कारण सामूहिक रूपमा जमघट नहुँदा गौराको रौनक नै नभएको स्थानीयले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *