काठमाडौं : नेपाली कथानक चलचित्र ‘श्री’ आजबाट नयाँं वर्षको अवसर पारेर देशभरका हलमा प्रदर्शन हुने भएको छ।
‘श्री’ नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय मा खिचिएको चलचित्र भएको हो। निर्माण पक्षको दाबी अनुसार ७२ घण्टामा यो चलचित्रको छायांकन सकिएको थियो।
लकडाउनको समयमा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ आजबाट प्रदर्शनमा आउन लागेको हो।
चलचित्र ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन्।
डिजिटल प्लेटफर्मममा मात्रै रिलिज गर्ने तयारी गरिएको भए पनि ट्रेलर हेरेपछि हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैंले पहल गरेको बितरक करण श्रेष्ठले बताए।
निर्देशक बोहराकै लेखनमा शिबम अधिकारीले सघाएको चलचित्र शेरबहादुर तामाङले खिचेका हुन्। सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ।
चलचित्र ‘श्री’ हलका साथै ओएसआर डिजिटलका विभिन्न एप्लिकेसनमासमेत प्रदर्शन हुँदै छ।






