काठमाडौं : शनिबार काठमाडौंमा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङफेले सुकुम्बासीहरुको हातमा पुर्जा दिनको लागि सरकार आतुर रहेको बताएकी छन्।
सरकारको आतुरतालाई व्यवहारमा उर्तानको निम्ति सरकार र आमसुकुम्बासीले आयोगका नवनियुक्त पदाधिकारीहरुमाथि आशा र भरोसा गरेको र भूमि समस्या समाधान आयोगका पदाधिकारीहरुले पहलकदमी लिनुपर्ने उनको भनाइ छ।
सुकुम्बासीहरुको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्न सक्ने भएकाले आयोगका पदाधिकारीहरुले नियमन गर्नुपर्ने उनले उल्लेख गरिन्।
गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समूह सक्रिय हुन सक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी रहेकोतर्फ पनि उनले ध्यानाकर्षण गराइन् । आयोगका सदस्यहरु आर्थिक लोभमा पर्न सक्ने भन्दै मन्त्री तुम्बाहाङफेले समयमै सचेत रहन आग्रह गरिन् ।
आयोगका पदाधिकारीहरुले स्थानीय तहले गरेका कामको नियमन गर्नुपर्ने र निर्दिष्ट ऐनभन्दा बाहिर गएर काम नगर्न पनि उनले निर्देशन दिइन्।






