Home / Nepal / कालोबजारी गरेको थाहा पाए निःशुल्क नम्बर ११४९ मा फोन गर्न सरकारको अनुरोध

कालोबजारी गरेको थाहा पाए निःशुल्क नम्बर ११४९ मा फोन गर्न सरकारको अनुरोध

काठमाडौं, १३ चैत ।  गृहमन्त्रालयले कसैले कालोबजारी, कृतिम अभाव सिर्जना गरेको थाहा पाए निःशुल्क नम्बर ११४९ मा फोन गर्न अनुरोध गरेको छ। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’को समयमा हुने कालोबजारीलाई नियन्त्रण गर्न गृहमन्त्रालयले बिहीबार २४ घण्टा खुला रहने टोल फ्रि नम्बर उपलब्ध गराएको हो।
 
‘यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृतिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ घण्टा उठ्ने टोल फ्रि नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ’, गृहमन्त्रालयले भनेको छ। 

सँगै दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ।  

उपत्यकामा रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवम् विक्रेताले डेलीभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउने, डेलीभरी भ्यानलाई जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउने, पसल सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था महानगरीय प्रहरीले मिलाउनेलगायत निर्णय गरेको हो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *