काठमाडौं : प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ।
आइतबार पीडितका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि ढुंगामुढाहानेर आक्रमण गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ।
भोक्राहा गाउँपालिका–५ का मोहम्मद हकिम साह अभद्र व्यवहार मुद्दामात अनुसन्धानको क्रममा थुनामा थिए। उनले थुनामै आत्माहत्या गरेका हुन्।
झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रूपले थुनामा रहेका व्यक्तिको ‘हत्या गरेको’ भन्दै लास नबुझ्ने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भने सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए। उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने जानकारी दिए।
झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
पीडित पक्षले भने ‘केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको’ बताएका छन् । उनीहरूले युवतीलाई परिवार पक्षले छुटाएर लगेको र युवकलाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भएको दाबी गरेका छन् ।






