काठमाडौं : नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृत सहित ६१ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा प्रदान गरीएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरीएको हो।
दर्ज्यानी पाउनेहरुमा नेपाल सरकार मन्त्रिस्तरको २०७८ साउन १४ गतेको निर्णयअनुसार पदोन्नति हुनुभएका प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँया देवी गुरूङ र नेपाल सरकार सचिवस्तरको सोही मितिको निर्णय अनुसार पदोन्नति हुनुभएका प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी तथा प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षक गरी जम्मा ६१ जना प्रहरी अधिकृतहरु रहेका छन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आम नागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिएका हुन ।
कार्यक्रममा नयाँ जिम्मेवारीमा खटिँदा नियमित कामको साथै कोभिड-१९ को संक्रमणबाट आफू, परिवार र आम नागरिकलाई सुरक्षा प्रदान गर्न उद्दत हुनुपर्नेमा जोड दिएका हुन ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिको अवसरसम्म पुर्याउनका लागि घर परिवारको महत्वपूर्ण योगदान रहेकोले परिवारमा अमूल्य खुसी साटफेर गर्नुपर्ने चर्चा गर्दै घर परिवारलाई समेत नेपाल प्रहरीको तर्फबाट वधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।






