झापा : उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ।
आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो। शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि अस्पतालले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो।
अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतबार राति नै थप उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पतालमा भर्ना गरिएको छ। बिर्तामोडका केही निजी अस्पतालले बच्चालाई राख्ने आईसीयू कक्ष नभएको भन्दै शिशुलाई फर्काइदिएपछि बिएन्डसी अस्पताल लगिएको थियो।
सिलिगुडीको अस्पतालले उपचारमा लागेको छ लाख ८०० भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो । अस्पतालले उपचारमा चार लाख ६८ हजार र औषधितर्फ एक लाख ३२ हजार ८०० बिल देखाएको छ । शिशुकी आमा शर्मिलाले पारामाउन्ट अस्पतालमा अहिलेसम्म दुई लाख ८८ हजार बुझाइसकेको बताइन् । अब सो अस्पताललाई तीन लाख १२ हजार बुझाउन बाँकी छ ।
शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दातासँग अपिल गरेकी छिन् । भारत जानुअघि नेपालका विभिन्न अस्पतालमा शिशुको उपचार गराउँदा ५० हजार खर्च भएको उनले बताइन् । अस्पतालमा अहिलेसम्म परिवारले बुझाएको दुई लाख ८८ हजारमध्ये ५४ हजार चन्दा सङ्कलनबाट जुटेको र बाँकी रकम परिवारले ऋण काढेर ल्याएको हो।






