Home / Society / तनहुमा श्रीमान गुमाएको २३ वर्षपछि रातो टीका र पछ्यौरी

तनहुमा श्रीमान गुमाएको २३ वर्षपछि रातो टीका र पछ्यौरी

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा अन्तर्राष्ट्रिय नारिदिवसको अवसर पारेर सोमबार आयोजित एक कार्यक्रममा गाउँपालिकाले १२७ जना एकल महिलालाई रातो टीका र पछ्यौरीले सम्मान गरेको छ।

कार्यक्रमको शुरुआतमै गाउँपालिका अध्यक्ष मायादेवी रानाले पनि रातो टीका र पछ्यौरा ग्रहण गरिन्। अध्यक्ष रानाले चार वर्षअघि मात्रै श्रीमान् गुमाएकी थिइन्।

गाउँपालिका अध्यक्ष मायादेवी रानाले पदममायालाई रातो टीका र पछ्यौरी ओढाएर सम्मान गरिन्। एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण फेर्न आफूले रातो पछ्यौरीसँगै रातो टीका लगाएको पदममायाले बताइन्। “मुखले नारी पुरुष बराबरी भने पनि पुरुषप्रधान देशमा नारीहरु अपहेलित भएको अवस्था छ”, उनले भनिन्, “त्यसैले पनि आज रातो टीका ग्रहण गरेँ।”

त्यस्तै, तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाएकि थिइन्। श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी थिइन् भने गर्भमा पाँच महिने छोरा थिए। श्रीमानको मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उनले २३ वर्षपछि निधारमा रातो टीका, रातो पछ्यौरा लगाएर उक्त कार्यक्रममा सहभागी भएर उनले टीका र पछ्यौरी पहिरिएकी हुन्।

म्याग्दे–३ धयरेनिवासी अञ्जु आलेले विवाहको चार वर्षमा श्रीमान् गुमाइन्। श्रीमानको मृत्युपछि भर्खर कलकलाउँदो उमेरमा उनको पहिरन फिक्का बन्यो। रातो पहिरन लगाउन मन भए पनि समाजले नराम्रो सोच्ला भन्ने डर थियो। समाज परिवर्तन हुनुपर्छ भन्ने सोचेर अञ्जुले २८ महिनामा रातो पछ्यौरी पहिरिइन्।

हिन्दू परम्पराअनुसार श्रीमान् गुमाएपछि रातो टीका र पहिरन नै लगाउन हुँदैन भन्ने सामाजिक मान्यता छ। त्यस्तो सामाजिक मान्यता चिर्नका लागि एकल महिलालाई रातो टीका र रातो पछ्यौरा ओढाउने कार्यक्रम गरिएको अध्यक्ष रानाले बताइन्। “यो कार्यक्रम गर्दा कतिले प्रशंसा गरेका छन् भने कतिले आलोचना पनि”, उनले भनिन्, “ती नकारात्मक कुरालाई पनि ऊर्जामा रूपान्तरण गर्छु।” एकल महिलालाई आत्मनिर्भर बनाउन विविध कार्यक्रम बनाउने पनि रानाले प्रतिबद्धता व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *