झापा : झापामा दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए।
अत्यधिक भिडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने प्रमुख जिल्ला अधिकारी तिमिसनाले जारी गरेको आदेशमा उल्लेख छ।
यातायातका साधन भने दिनभर खुला गरिने भएको छ। सवारी साधनलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न आदेशमा उल्लेख गरिएको छ।
उक्त आदेशमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय एक साता लागु हुने उल्लेख छ। बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने भएको छ। हाटबजार, भेला, जुलुसजस्ता भिडभाड हुने कार्यक्रम गर्न प्रशासनले निषेध गरेको छ। होटल तथा लज कूल क्षमताको ५० प्रतिशत सञ्चालन गर्न र हरेक दिन निःसङ्क्रमण गर्न प्रशासनको आदेशमा जनाइएको छ।






