काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा आयोजित नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देश बर्बाद पार्न चाहेको आरोप लगाएका छन्।
उनले प्रचण्डले कम्फर्टेबल सरकार बनाउने र नेपालले हिन्दीमा फोन गरेकोप्रति कटाक्ष गर्दै अध्यक्षद्वयलाई ‘दुई मिस्टर’ को संज्ञा दिए। उनले देशको विकास रोक्नका लागि आफूलाई हटाउन लागिरहेको पनि बताए।
जनता साथमा र जनताको आशीर्वाद हुँदा-हुँदै आफूलाई केही फरक नपर्ने भन्दै भने, “के भयो त ? प्रतिनिधिसभा पुन:स्थापना भयो त राम्रै भयो।”
आफू पार्टीको अध्यक्ष र प्रधानमन्त्री रहेको कुरा नबिर्सिन पनि आग्रह गरे। आफूलाई प्रधानमन्त्रीबाट हटाउन नसके तीन करोड जनताबाट दुईतिहाइ ल्याउने जिकिर पनि गरे।
उनले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौती पनि दिए।






