Home / Nepal / News / धौलागिरी अस्पतालकोे आईसीयूमा जनशक्तिको अभाव

धौलागिरी अस्पतालकोे आईसीयूमा जनशक्तिको अभाव

बागलुङ: धौलागिरि अस्पतालकोे सघन उपचार कक्षमा अहिले दुईजना कोरोना सङ्क्रमित उपचाररत छन् । महामारीका समयमा कुनै पनि बेला तीन श्य्याको आईसीयूमा बिरामीको चाप बढ्न सक्छ।

न्यून जनशक्तिले जेनतेन धानिरहेको आईसीयूमा कोरोनाका गम्भीर बिरामी बढेमा सेवा प्रवाह चुनौतीपूर्ण हुने पक्का छ । आईसीयू सञ्चालनका लागि चाहिने दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको छुट्टै ‘युनिट’ अस्पतालमा छैन । 

अस्पतालका अन्य विभाग र सेवामा कार्यरत चिकित्सक नै आईसीयूमा खटिनुपरेको छ । आईसीयू हेर्ने चिकित्सक÷नर्सलाई आइसोलेसनकक्षकोसमेत जिम्मेवारी छ ।

तीन श्य्याको आईसीयूमा १२ जनासम्म नर्स आवश्यक पर्ने अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेल बताउँछन् । “अहिले जम्मा पाँच÷छ जना नर्स हुनुहुन्छ, आइसोलेशन र आइसियू दुवैतिर उहाँहरु नै खटिनुपरेको छ”, उनले भने ।

तीन चरणमा पालो गरेर खटिनुपर्नेमा नर्सले यसभन्दा बढी कार्यबोझ उठाउनु पर्ने अवस्था छ । गम्भीर लक्षणसहितका सङ्क्रमित बढ्ने र धेरैलाई आईसीयू चाहिने स्थिति आएमा हालको जनशक्ति अपुग हुने देखिन्छ ।

“पहिलेदेखि नै दरबन्दीअनुसारको जनशक्ति थिएन, कोरानापछि त झन् चुनौती थपिएको छ”, प्रमुख चिकित्सक पोखरेलले भने, “आइसियूका लागि विशेषज्ञसहितको अलग्गै चिकित्सक टोली चाहिने हो तर अहिले पुरानै जनशक्तिबाट काम चलाइरहेका छौँ ।” उनले प्रदेशको सामाजिक विकास मन्त्रालयमा आइसियूका लागि जनशक्ति माग गरिएको बताए । 

आईसीयू सेवाका लागि करारमा पाँच  नर्स राख्न गत वैशाखमा प्रदेश सरकारले रु पाँचलाख उपलब्ध गराए पनि पछिल्लो समय रकम नदिएको उनको भनाइ छ ।

आईसीयूमा एनेस्थोलोजिस्ट, फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिस्टलगायत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *