काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सूदले नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि वक्तव्यबाजी बन्द गर्ने, एकतर्फी गतिविधि रोक्ने र लेनदेनको भावनाअनुसार समस्या समाधानको मनसायसहित वार्तामा बस्नुपर्ने बताएका छन् ।
हफिङ्टोनपोस्टसँगको अन्तर्वार्ताका क्रममा उनले भने, “समस्या समाधानको अगाडि बाटो साधारण छ- वक्तव्यबाजी गर्न, थप समस्या उत्पन्न गराउने एकतर्फी गतिविधि रोक्ने, सार्वभौम दाबी गर्ने सन् १८२० र १८५० का पुराना बेलायती सर्भे नक्साहरुको खोजी बन्द गर्ने किनभने ती दिनहरुमा सर्भे टेक्निक भर्खर विकसित हुँदै थिए । र, लेनदेनका आधारमा समस्या समाधानको भावनाअनुसार वार्तामा बस्नुपर्छ ।”
भारतले कोरोनाको समाप्तिपछि वार्तामा बस्ने भनेकोमा नेपालले नपर्खिने र तत्काल वार्ता गर्ने भनिरहेको छ नि भन्ने प्रश्नमा उनले कृत्रिम डेडलाइनले आगामी मार्ग तय नगर्ने बताए ।
उनले भने, “सीमा समस्या समाधानका लागि लामो समय लाग्छ । नेपालले विगत ५० वर्षदेखि कुनै कुरा उठाएन । सन् २००८ देखि सडक बनिरहेको भए पनि नेपाल शान्त बस्यो ।
तर, एकाएक अहिले नक्साको कुरा निकालेको छ । ग्रामीण क्षेत्रमा बनेको बाटोले दुवैतर्फ सहज गराउँछ ।
नेपाल-भारतको खुला सिमाना छ । जसका कारण मानिसहरुको र सामानहरुको आवातजावतमा सजिलै हुन्छ । वार्ताको कृत्रिम समय तोकेर आगामी बाटो सहज हुनसक्दैन ।”
उनले भारत अवश्य पनि वार्तामा बस्ने जनाउँदै ढिलाइ नियतवशभन्दा पनि संयोगवश भएको बताए ।
उनले भने, “भारतीय राजदूत मन्जिबसिंह पुरीको फर्किने समय, विदेश सचिव विजय गोख्ले पनि रिटायर्ड भए ।
यी सबै कुरा मिलाउन समय लागेको हुनसक्छ । यद्यपि कम्तीमा टेलिफोन संवाद अथवा भिडियो कन्फरेन्स भने हुनसक्छ ।”
उनले यसअघि भारतीय सेना प्रमुख मनोजमुकुन्द नरभानेले दिएको अभिव्यक्ति असंवेदनशील भएको टिप्पणी गरेका छन् । उनले भने, “भारतीय सेना प्रमुखको अभिव्यक्ति असंवेदनशील थियो । नेपालले यसप्रति प्रतिक्रिया नदिएर परिपक्वता प्रस्तुत गरेको छ ।”
यसअघि भारतीय सेना प्रमुखले चीनतर्फ संकेत गर्दै नेपाल कसैको उक्साहटमा लागेको बताएका थिए ।
भारतले सन् २०१९ को नोभेम्बरमा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाउँदै भारतलाई वार्ताका लागि दुई पटक आग्रह गरेको थियो ।
भारतले कुनै जवाफ नफर्काएको र उल्टै ८ मे, २०२० मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछि नेपालमा त्यसको चर्को विरोध र आलोचना भएको थियो ।
नेपाली जनताको चर्को दबाबको परिणामस्वरुप नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।
यस नक्सालाई स्वीकार्य नहुने भारतले प्रतिक्रिया दिएको छ ।
नेपालले नक्सालाई वैधानिकता प्रदान गर्न आफ्नो निशान छाप परिवर्तनका लागि संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।
सूदले सन् २००८ देखि २०११ सम्म नेपालका लागि भारतीय राजदूतका रुपमा काठमाडौंमा रहेर काम गरेका थिए ।






