काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार भन्दा माथी पुगेकोले स्वास्थ्य मन्त्रालयले यसलाई दोस्रो चरणमा प्रवेश गरेको अवस्था भएको जनाएको छ ।
अब सबै संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न नसकिने भएकाले नयाँ नीति अनुसार अघि बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताउनुभयो ।
मन्त्री ढकालले बौद्धमा स्वास्थ्य सामग्री ग्रहण गर्ने क्रममा अब अक्सिजन र भेन्टिलेटर चाहिने अवस्थाका बिरामीलाई मात्र अस्पताल भर्ना गर्ने नीति लागु गर्ने बताउनुभएको हो ।
मन्त्री ढकालले कोरोना संक्रमणको लक्षण ८० प्रतिशतमा सामान्य अवस्थामा देखिने हुनाले नियमको पालना गरेमा अस्पताल भर्ना हुनु नपर्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा दिनुभएको जानकारी अनुसार आज २ सय १ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित हुनेको संख्या २ हजार ३ सय पुगेको बताउनुभयो ।
उहाँले पिसिआर विधिबाट ८० हजार २ सय ६८ र आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ परिक्षण गरिएको र संक्रमित मध्ये २ सय ७८ जना निको भएर घर फर्किसकेको जानकारी गराउनुभयो ।
उहाँले तरकारी र फलफुलमा कोरोना फैलन्छ भनेर गाड्ने र फाल्ने गरेको सुनियो ।
तरकारी र फलफुलबाट कोरोना सर्दैन । राम्रोसँग सफा गरेर धोएर फलफुल र तरकारी खानुस नष्ट नगर्नुस् भन्नुभयो ।






