काठमाडौं: हिउँदेयाम लागेसँगै मुलुकमा बिभिन्न स्थानमा आगलागीका घटना बढ्न थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नौ जिल्लामा आगलगीका घटना भएका छन।
पछिल्लो २४ घण्टामा सोलुखुम्बु, दाङ, तेह्रथुम, कञ्चनपुर, मुगु, ललितपुर, धनुषा, धनकुटार र महोत्तरीमा आगलागीका घटना भएको छ । उक्त घट्नामा परी झण्डै रु एक करोड बराबरको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौमतले जानकारी दिए ।
त्यसमध्ये केही ठाउँमा ग्यास चुहिएर त केही स्थानमा विद्युत् चुहिएर आगलागी भएको छ भने कतिपय स्थामा चुलोबाट आगो सल्किएको छ । पढ्ने क्रममा आगलागी हुँदा एक बालिका घाइते नै भएकी छिन् ।
तेह्रथुमको आठराइस्थित एक घरमा आगलागी हुँदा १५ लाखको क्षति भएको जनाइएको छ । दाङमा भने ट्रकमा विद्युत्को तारले छोएर आगलागी भएको र झण्डै ७० लाखको क्षति भएको जनाइएको छ । कञ्चनपुरको एक लुगा सिउने पसलमा आगलागी हुँदा चार लाखको क्षति भएको जनाइएको छ ।
यसअघि बिहीबार पनि काठमाडौंसहित विभिन्न सात जिल्लामा आगलागीका घटना भएको थियो । बुधबार चार जिल्लामा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।
गौतमले मुलुकमा भौतिक क्षति र घटना सङ्ख्याका हिसाबले सबैभन्दा बढी आगलागीका घटना बढी हुने गरेको बताए । अहिले प्राधिकरणले घटना न्यूनीकरणका लागि आवश्यक तयारिमा लाग्न जिल्लाजिल्लामा निर्देशन सर्कुलरसमेत गरिसकेको छ ।
गत वैशाख यता मात्रै एक हजार ४३ आगलागीका घटना भएको प्राधिकरणको अभिलेख छ । उक्त आगलागीमा परी २० जनाको मृत्यु भएको र १ सय ८६ जना घाइते भएका छन् भने ४ सय ६७ पशुचौपाया क्षति भएको छ । यास बीचमा आगलागीबाट ८४ करोड ११ लाखको आर्थिक क्षति भएको जनाइएको छ ।






