प्रकाश रेग्मी एम.एस.सी एजी. कृषि तथा पशुविज्ञान अध्ययन संस्थान
धान विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम ओरिजा सेटिभाले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो ।
धानअन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । संसारभरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ ।
भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो । यति महत्वपुर्ण बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु हामी सबको दायित्व पनि हो ।
किसानले परम्परागत तरिकालेबिऊ राख्नाले धेरै रोगकिराको आक्रमण हुनुको साथै वृद्धि बिकास नै नभएको र फलस्वरुप उत्पादन नै मेहनत अनुसार नभएको पाइन्छ त्यसैले यसको व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक छ ।
धानको बिउ राख्दा ध्यान दिनुपर्ने कुराहरु :
बिउको छनोट यो सबैभन्दा महत्वपूर्ण पक्ष हो जसले धेरै कुरामा प्रभाव पारेको हुन्छ । राम्रो बिउ छनोट गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।
– उन्नतजातको बिऊ छनोट गर्ने।
– पुर्ण रूपमा जातीय शुद्धता भएको
– आफ्नो लगाउने ठाउँको हावापानी सुहाउँदो प्रयोग गर्ने जसले गर्दा जोखिम कम हुन्छ ।
– बिऊ छनोट गर्दा राम्रो, ठुलो दाना भएको, रोग नलागेको, किराले नखाएका र झारपातको बिउ नमीसिएको हुनुपर्छ ।
– उन्नत धानको बिऊ ।
– बिऊ बाहेक अरु कुरा हटाउने
यस अन्तर्गत हामीले बिउमा भएको पोहोटा, धुलो, किराले खाएको दाना, हलुका भएका दाना जसको उमार शक्ति कम हुन्छ यस्ता बस्तुहरु हटाउने काम गरिन्छ । यसको लागि नुन पानिको प्रयोग गरिन्छ ।
नुनपानिको घनत्व साधारण पानीको भन्दा बढी हुन्छ जसले गर्दा यस्ता बस्तुहरु सजिलै पानीको माथी उत्रिन्छन् जसलाई हामीले सजिलै हटाउन सकिन्छ भने जुन बिउ पानीको पिँधमा थिग्रिन्छन् त्यो बिउ स्वस्थ मानिन्छ नुन पानी बनाउँदा कुखुराको अण्डाले जाँच गर्न सकिन्छ ।
साधारण पानीमा अण्डा डुब्ने हुन्छ भने नुनपानीमा अण्डा उत्रिन्छ । यसरी नुनपानी बनाउनको लागि कति पानी चाहिन्छ लिनुपर्छ र बिस्तारै नुन घोल्दै जानुपर्छ जबसम्म अण्डा राम्रोसँग पानीमा उत्रदैन तबसम्म नुन घोल्नुपर्छ यदि त्यो भन्दा बढी नुन घोलेमा फेरि त्यसले धानको भु्रणलाई असर पार्दछ । रोनुभन्दा पहिले गरिने बिऊ उपचार बिऊको मुख्य उद्धेश्य सुषुप्त अवस्थमा रहेको भ्रुणलाई सक्रिय बनाउनु हो ।
धेरै समय भण्डारण गरेर राखेको बिउको भ्रुण एकैचोटि सक्रि य हुन गाह्रो हुन्छ । त्यसलाई सुक्खा माटोमा सकृय हुन समय अलिबढी लाग्छ तसर्थ यसलाई प्रिमिङबाट सकृय गराउने हो भने छिटो र समान रूपमा उम्रने हुन्छ ।
यहि नै प्रिमिङ अर्थात थिग्राउने पद्धतीको मुख्य फाइदा हो । प्रिमिङ गर्दा सबैभन्दा पहिले बिउलाई करीब ८ देखी १० घन्टा राम्रो सफा पानीमा भिजाउनुपर्छ । तब बिउले पानी सोसेर लिन्छ भ्रुणलाई सकृय बनाउनुको साथै बाहिरी आवरणलाई कमलो बनाउछ ।
यसरी ८ देखी १० घन्टा भिजाएर राखिएको बिउको पानी तार्नुपर्दछ । अब बिउबाट प्रसार हुने ढुसीबाट लाग्ने रोगको रोकथाम गर्न कार्वेन्डाजिम नामक ढुसीनाशक बिषादीले बिउलाई उपचार गर्नुपर्छ । यसरी उपचार गरेपछी सबै बिउलाई एउटा जुटको बोरामा हालेर भिरालो, घाम नपर्ने ठाँउमा करिब २४ घन्टा राख्नुपर्दछ ।
(हल्का टुसा आउन लागेको बेलासम्म) अब यो बिउ रोप्नको लागि तयार हुन्छ । ढुसीनाशक औषधीले बिउ उपचार जग्गाको छनोट र तयारी गर्दा सामान्यतया धानको बिउराख्न पारिलो घाम लाग्ने, उर्वर माटो भएको, सिंचाईको सुबिधा नजिक भएको, चरा किरा र अन्य कुराको नियमित अनुगमन गर्न मिल्ने ठाँउको छनोट गर्नुपर्छ ।
जग्गाको तयारी गर्दा १ महिना अगाडि सर्बप्रथम गहिरो जोत्नुपर्छ जसले गर्दा रोग तथा किराको लार्भा, ढुसी आदी मर्छन । यसरी जोतिएको ठाँउमा राम्रोसँग पाकेको गोबर मल ( गाढा खैरो कम्पोस्ट र अन्य जैबिकमल समनुपातिक रूपमा हाल्नुपर्दछ ।
जैबिकमलको साथै रासायनिक मलमा डिएपी, पोटास, जिन्क आदी हालेर राम्रोसँग जोत्नुपर्छ । यहा युरीया पहिलेदेखी नै हाल्दा खासै राम्रो हुदैन किनकी यो माटोबाट हराएर जान्छ तसर्थ युरीया बिऊ उम्रेको करिब ७ देखी १० दिनपछि हाल्नु उपयुक्त हुन्छ ।
यसरी मल हालेपछी राम्रोसँग माटो मसिनो हुनेगरी २ देखी ३ पटक जोत्नु पर्दछ । यसरी तयार गरिएको ठाँउमा यदि सुकेको पराल, घाँस, झारपात आदि छन् भने यसलाई समान रूपमा छरेर आगो लगाउने हो भने पनि माटोमा भएका किरा र रोग नाश हुन्छ ।
धुलो (सुक्खा) ब्याड बनाउने तरिका अब तयार गरिएको जग्गामा ब्याड कसरी बनाउने
– १ मीटर चौडाई हुने गरी लम्बाई चाहिँ आवश्यकक्ता अनुसारको जमिनको सतहबाट करिब १० देखी १५ सेन्टीमिटर अग्लो ब्याड बनाउनु उपयुक्त हुन्छ ।
– यसरी ब्याड बनाउदा पानी हाल्न, झार गोड्न, किरा रोगको नियन्त्रण गर्न तथा अरु धेरै काममा सजिलो हुन्छ ।
–ब्याडमा बिऊ टुसाएको राम्रोसँग बाक्लो हुने गरि एक दाना बराबरको बाक्लो हुने गरी छर्नुपर्छ र बिउलाई १ इन्च माटोल ेराम्रोसँग ढाक्नु पर्दछ ।
– यसरी बेलाबेलामा पानी हाल्ने, झारफल्ने, किरा तथा रोग नियन्त्रण गर्ने काम जारी राख्नुपर्छ ।
– यसरी तयार परेको बिऊ करिब १५ देखि २१ दिनमा रोप्नको लागि तयार हुन्छ । (नोटः यो पानीको उपब्लधता अनुसार निर्भर पर्छ । )
लेखक रेग्मी एम.एस.सी. एजी कृषि तथा पशुविज्ञान अध्ययन संस्थान अध्ययनरत हुनुहुन्छ रेग्मी कृषिको विकासको लागि विभिन्न लेखहरु समेत लेख्दै आउनुभएको छ ।
यो पनि हेरौ






