Home / Nepal / दुई नेपाली अभिनेत्रीको सात नक्कली अश्लील भिडियो ईन्टरनेटमा, नेपालमा हेर्न नमिल्ने बनाइयो

दुई नेपाली अभिनेत्रीको सात नक्कली अश्लील भिडियो ईन्टरनेटमा, नेपालमा हेर्न नमिल्ने बनाइयो

काठमाडौं । कोरोना संक्रमण जोखिमका कारण दुई महिनादेखि जारी लकडाउनले तनाव झेल्नुपरिरहेकै समयमा नक्कली अश्लील भिडियोको आतंकसमेत खेपिरहेका कलाकर्मीहरुको पीडा केही मात्रामा कम भएको छ ।

बारम्बार प्रेस काउन्सिल नेपाल, सूचना विभाग, दूर सञ्चार प्राधिकरण, चलचित्र विकास बोर्डमा समन्वय गरेर साँझमा मात्र आपत्तिजनक साइट बन्द भएको हो ।

बोर्डका सदस्य सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कानुन शाखा प्रमूख एवं उपसचिव महेन्द्र संखीको समन्वयमा उक्त अश्लील साइट नेपालमा हेर्न नमिल्ने गरी बन्द गरिएको हो ।

‘यसबारे थाहा पाउनासाथ दुर सञ्चार प्राधिकरणका अध्यक्षसँग समन्वय गरी अब यो साइट नेपालमा हेर्न नमिल्ने बनाइएको छ।

बाहिरी देशमा पनि हेर्न नमिल्ने बनाउनका लागि प्राधिकरणको सहयोगमा थप प्रक्रिया पूरा गरिनुपर्छ’ संखीले भने।

नेपाली अभिनेत्रीहरुको अश्लील भिडियो सार्वजनिक भएसँगै कलाक्षेत्र आतंकित भईरहेका बेला योसँग सरोकार राख्नेहरु निकायहरुसम्म चाहिँ सामान्य खबरसमेत नपुगेको देखिएको छ ।

बोर्डका सदस्य सचिव संखीअघि सूचना विभागका लेखनाथ शर्मासँग सम्पर्क राख्दा उनले उजुरी नआएको र उजुरी पर्नासाथ उक्त साइट बन्द गर्ने बताएका थिए ।

विभागका महानिर्देशक शर्माले उजुरी पर्नासाथ दूर सञ्चार संस्थानलाई भनेर उक्त साइट बन्द गर्ने जानकारी दिएका थिए ।

‘प्रेस काउन्सिल नेपालमा अनलाइन उजुरी दिनुभए हुन्छ, मन्त्रालय र मलाई बोधार्थ मात्र दिए पुग्छ, हामी कारबाही चलाइहाल्छौं’ शर्माले भनेका थिए ।

एक अश्लील वेबसाइटले लगातार दुई अभिनेत्रीको नक्कली अश्लील भिडियोलगायतका सामग्री अपलोड गरेपछि नेपाली कलाकर्मी आतंकित भएका थिए।

अश्लील चलचित्रका कलाकारको शरीरमा नेपाली अभिनेत्रीको टाउको जोडेर अश्लील भिडियो तथा तस्वीर अपलोड गरिएपछि यस्तो कुकृत्य गर्ने साइबर अपराधीलाई कडाभन्दा कडा कानुनी कारवाही गर्नुपर्ने आवाज कलाकर्मीले उठाएका छन् ।

नेपाल चलचित्र कलाकार संघको नेतृत्वमा एक टोलीले कलाकारहरुको यस्तो अश्लील भिडियो बनाई भ्रम सिर्जना गरेर चरित्र हत्या गर्ने अपराधीको छानबीन गरी कडाभन्दा कडा कारवाही गर्न महानरीय प्रहरी अपराध महाशाखा टेकुमा मंगलबारै उजुरी दर्ता गराएको छ ।

पीडित कलाकाहरुका तर्फबाट कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले उजुरी दर्ता गरेका हुन् ।

एक नेपाली अभिनेत्रीपछि अर्की अभिनेत्रीको नक्कली अश्लील भिडियो सार्वजनिक भएको थियो ।

एक अभिनेत्रीको दुई अश्लील भिडियो सो साइटमा अपलोड गरिएको थियो भने अर्की अभिनेत्रीको पाँच नक्कली भिडियो अपलोड गरिएको थियो ।

साइटको नाममै फेक (नक्कली) जोडिएको सो पोर्न साइटमा पोर्न कलाकारका साथमा हलिउड र बलिउडका नायिकाहरुको समेत डीपफेक पोर्न भिडियो राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *