Home / Nepal / News / १७ महिना बन्द रहेका सिनेमा घर भोलिबाट खुल्दै

१७ महिना बन्द रहेका सिनेमा घर भोलिबाट खुल्दै

काठमाडौं : १७ महिना बन्द रहेका सिनेमा हल भोलिबाट खुल्ने भएका छन्। सिनेमा घर खोल्न प्रशासनले अनुमति दिए पनि वितरक तथा प्रदर्शकसँग रिलिज गर्ने चलचित्र भने छैनन्। सिनेमा घर खोल्ने पूर्व जानकारी वितरक, प्रदर्शक तथा निर्मातालाई नहुँदा रिलिजका लागि चलचित्र नभएका हुन्।

“भोलिबाट नै रिलिज गर्न त चलचित्र छैनन्। पब्लिसिटी गर्ने समय नभएकाले नेपाली चलचित्र आउन त अझै करिब एक महिना लाग्ला तर हिन्दी र अंग्रेजी चलचित्र भने केही दिनमा रिलिज हुन सक्छन्,” चलचित्र वितरक प्रचण्डमान श्रेष्ठ भन्छन्, “हल खोल्ने जानकारी केही समय अगाडि आएको भए नेपाली चलचित्र पनि केही दिनभित्रै प्रदर्शन गर्न सकिन्थ्यो।”

आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीरुको बैठकले काठमाडौं उपत्यकामा भोलिबाट सिनेमा हल खोल्ने निर्णय गरेको थियो।

पहिलो र दोस्रो कोभिड लहरका बीचमा केही समय सिनेमा हल खुले पनि ५० प्रतिशत अकुपेन्सीमा खुल्न दिइएको थियो। उक्त समयमा करिब २० प्रतिशत सिनेमा हल मात्रै खुलेका थिए । कोरोना संक्रमणको त्रासका कारण दर्शक आउँदैनन् भन्दै ठूला ब्यानरका सिनेमा रिलिज भएका थिएनन् ।

यसपटक भने कोरोना अगाडि नै रिलिज डेट लिएर प्रचारप्रसार गरिसकेका करिब आधा दर्जन चलचित्रलाई १२ देखि १५ लाख रुपैयाँ दिने तयारी चलचित्र विकास बोर्डले गरिरहेको स्रोतको भनाइ छ। बोर्डका अनुसार ६४ वटा चलचित्र रिलिजको पर्खाइमा छन्।

कोरोनाको संक्रमण अगाडि १९३ वटा सिनेमा हल रहेकोमा यसमध्ये २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *