बैतडी : बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिका वडा नम्बर–४ को गढी क्षेत्र माघ ६ गतेसम्म ११ दिनका लागि ‘सिल’ गरिएको छ।
कोरोना संक्रमणका कारण केही दिनअघि मात्रै गढी क्षेत्रमा एक स्थानीयबासीको मृत्यु भएपछि उनको सम्पर्कमा रहेका ब्यक्तिहरुमा पनि कोरोना देखिएकाले गढी क्षेत्र आइतबारदेखि माघ ६ गतेसम्म सिल गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए।
नगरपालिकाको गढी क्षेत्रमै अहिले पनि सातजना संक्रमित रहेकाले संक्रमण नफैलियोस् भन्नका लागि गढी क्षेत्र सिल गरेको हो। सिलभएसँगै आवतजावत नगर्न, शिक्षण संस्था बन्द गर्न आग्रह गरिएको छ भने बजार तथा पसल बन्द रहेको छ।
बैतडीमा अहिलेसम्म ६३६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कोरोनाबाट दुईको मृत्यु भइसकेको छ।






