कवि- बिष्णु न्यौपाने
मोती जयन्ती विशेष (मोतीराम भट्टको सम्झनामा)
के हो ज्ञान, विचार, सत्त्वगुण के, ब्रह्माण्ड के, धर्म के?
के सम्पत्ति, विवेक, बुद्धि, धन के, माधुर्य के, प्रेम के?
आत्मा, ईश्वर के, चराचर जगत् , के सृष्टिको बन्धन?
सारा चिन्न सकोस् परा प्रकृति नै मोती बनोस् जीवन।
१
उठ्छन् प्रश्न सयौँ म के हुँ र धरा, संसार के, शून्यता?
के आकाश र वायु के, जल, धरा, खै सत्यको मान्यता?
हुन्छन् लौकिक वा अलौकिक ठुला के उच्च हुन् सज्जन? जिज्ञासा सब मेटियून हृदयका मोती बनोस् जीवन।
२
केले चल्दछ यो चराचर जगत् ? सोध्छन् उठी भावना
चाल्छन् भौतिक तत्त्वले कि छ अझै टाढा कुनै चेतना?
माया मोह र लोभ क्रोध नबुझे झुक्छन् सबै चिन्तन
यो आत्मा, मन, ब्रह्म, ईश्वर बुझी मोती बनोस् जीवन।
३
राख्छन् दृष्टि विभिन्न भिन्न जनले हो सत्य एकै तर
पार्छन् संस्कृति, सभ्यता, चलनले सोचाइमा अन्तर
खोजी सार, निखार, ज्ञान भवको बाँडौँ गरी मापन
एकै दृष्टि, विचार, दर्शन लिँदै मोती बनोस् जीवन।
४






