Home / Nepal / एक महिनापछि पुनः तीन हजारमाथि नेप्से, वाणिज्य बैंक लगानीकर्ताको रोजाइमा

एक महिनापछि पुनः तीन हजारमाथि नेप्से, वाणिज्य बैंक लगानीकर्ताको रोजाइमा

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा एक महिनापछि नेप्से पुनः ३,००० अंकमाथि पुगेको छ। बिहीबार बजार परिसूचक नेप्से १८.७६ अंकले वृद्धि हुँदा ३,००४.३३ अंकमा बन्द भएको छ।

गएको जेठ ३१ गते ३,०२५.८३ अंकको ऐतिहासिक उचाइ कायम गरेर झरेको नेप्से उतार–चढावबीच एक महिनापछि पुन तीन हजार अंकको विन्दुमा पुगेको हो।

असार लागेसँगै बजार परिसूचक र कारोबार रकम क्रमशः घट्दै गएको सेयर बजारमा असार २८ गतेको सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै क्रमशः बढ्दै गएको छ। जेठ ३० गते १९ अर्ब ५५ करोड रुपैयाँसम्मको कारोबारपछि दुई साता अगाडि कारोबार रकम चार अर्बसम्म झरेको थियो । तर, गत साताबाट भने बजार परिसूचक र कारोबार रकम दुवै लयमा फर्किएको छ।

मंगलबारको तुलनमाा नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । मंगलबार आठ अर्बमा झरेको कारोबार रकम आज बढेर ११ अर्ब नाघेको छ ।

बम्पर लाभांश घोषणा सुरु गरेसँगै म्युचुअल फन्डका इकाइमा लगानीकर्ताको आकर्षण बढेको छ । जसले गर्दा बजारमा कारोबार भएको धितोपत्रको युनिट बढेको छ । आज नेप्सेमा ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २२ हजारको कारोबार भएको छ । आज बजारमा म्युचुअल फन्डसँगै बैंकिङ उपसूचकले बजारलाई लिड गर्दा कारोबार रकममा पछि वणिज्य बैंक अगाडि देखिन्छन् ।

गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा रहेका बैंकहरुको रिकभरी राम्रो हुँदा राम्रो लाभांशको अपेक्षामा वाणिज्य बैंक लगानीकर्ताको आकषर्णमा परेको छ ।

आज नेप्सेमा म्युचुअल फन्ड उपसूचक सर्वाधिक ५.२७ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक १.७२ प्रतिशत र वित्त कम्पनी उपसूचक १.५७ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर र निर्जीवन बिमा उपसूचकमा पनि वृद्धि हुँदा त्यसबाहेकका सबै उपसूचक गिरावट भएका छन् ।

व्यापार उपसूचक २.०२ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचक ०.५३ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ०.४२ प्रतिशत र उत्पादनमूलक उपसूचक ०.३४ प्रतिशतले गिरावट भएको छ ।

आज नेप्सेमा कृषि विकास बैंकको ४६ करोड २७ लाख ६५ हजारको कारोबार हुँदा नेपाल बैंकको ३६ करोड ५ लाख ८१ हजार र एनआइसी एशिया बैंकको ३६ करोड ४ लाख ४८ हजारको कारोबार भएको छ ।

यस्तै, नेप्सेमा २५ प्रतिशत लाभांश घोषण गरेको लक्ष्मी उन्नति कोषको इकाइ मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै, सीईडीबी हाइड्रोपावर, ङ्यादी ग्रुप पावर, पोखरा फइनान्स र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य पनि बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यता, हिमालयन पावर पार्टनरको सेयर मूल्य ४.०७ प्रतिशतले गिरावट हुँदा बरुण हाइड्रोपावरको सेयर मूल्य ३.९३ प्रतिशत र विशाल बजार कम्पनीको सेयर मूल्य ३.१० प्रतिशतले घटेको छ ।

आज नेप्सेमा १८३ कम्पनीको सेयर कारोबारमा आएकोमा ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीका सेयर मूल्य भने स्थिर रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *