लेखक: बासु सर
न’ दुख नै देख्न पाईयो,
न’ सुख नै देख्न पाईयो,
पाईयो त केबल
सपना झैं मघुरो मुख देख्न पाईयो।
तस्विर त छ बा! हजुरकै पुरानो,
हेरेर फेरि आज याद लेख्न पाईयो।
बा! तपाईं अनन्त यात्रामा निस्केको,
मेरो दुधे दिमागले देखिसकेको थियो!
तपाईलाई यमलोकको
एरपोर्ट सम्म पुर्याउन त
म जान पाएन
तर,
मनको जहाज चढेर,
यो दुनियाभर खोज्न निस्केको थिएँ।
बा! तपाईंले दाङबाट ल्याईदिएको,
त्यो रङ्गिचङ्गी बेलुनको रङले
मेरो मस्तिष्कमा
खुशिका रङहरु भरेको थियो।
तपाईंले दिएको दुई रुपैयाँले किनेको
कलमले तपाईंकै नाम कोरेको थियो।
र तपाईंले गाउने भजनको भाकाले,
मेरो हृदयमा संगीतको धुन सरेको थियो।
अहिले तिनै यादहरु मनभित्र बजिरहन्छन्!
यादहरु त हजारौं हजार लेखेरै नसकिने,
सपनाहरु पनि कति हुन देखेरै नसकिने!
प्रगति गर्दा बा लाई देखाउन पाए…!
समस्या पर्दा बा लाई बताउन पाए…!
आमाले मलाई तेल घस्दै गर्दा,
तपाईं भन्नुहुन्थ्यो नि!?
“देख्लिस यस्को दिन आउदा कस्तो हुन्छ यो”
ठूलो धोको त अधुरै यहीं रह्यो बा !
सोध्न पाएन नि तपाईंले भनेजस्तो म भए कि भएन ???!





