काठमाडौं : मेरो एउटा साथी छ, प्रेमगीत, म यस्तो गीत गाउछु १ र २, रामकहानी लगायत लभ स्टोरी चलचित्रहरूका निर्देशक सुदर्शन थापाले मोडल तथा सञ्चारिका सुप्रिया कटुवालसँग इङगेज्मेन्ट गरेका छन्।
निर्देशक थापाले आज काठमाडौंको एक होटलमा नजिकका केही व्यक्तिहरूबीच इङगेज्मेन्ट गरेका उनले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै यसबारे जानकारी दिएका हुन्।
नेपाली चलचित्रमा सफल र हिट लभ स्टोरी चलचित्र दिने निर्देशकको छबी बनाएका निर्देशक सुदर्शन थापाको आज (६ सेप्टेम्बर) मा जन्मदिन परेको छ। यही जन्मदिनको अवसर पारेर सुदर्शनले जीवनको नयाँ अध्यायको पनि सुरुवात गरेका छन्।
सामाजिक संजाल मार्फत फोटोसँगै सुदर्शन लेख्छन्, “जिन्दगीको नयाँ सुरुवात…यहाँहरूको माया र सद्भाव सधैझैँ रहिरहोस् ।”
उनीहरूको इङगेज्मेन्टमा पछिल्लो समय प्रेमिल जोडीका रूपमा रहेको हल्ला चलिहरेका कलाकारद्वय वर्षा सिवाकोटी र राज कटुवाल पनि उपस्थित थिए।






