विष्णु न्यौपाने
पिताजी स्वर्गीय हुनुभएको सातौँ रात । हामी सबै झकाएका रहेछौँ । बलिरहेको बत्ती आँखामा सोझै पर्यो भनेर हाम्रो रुँगालो भतिजोलाई निभाउन लगाएका थियौँ । दस भाइ दाजुभाइ, बुहारी र छोरीहरू गरेर जम्मा २१ जना थियौँ क्रियाकर्म गर्ने व्यक्ति ।
छोरीबुहारीहरू टाँडमा र हामी भुइँमा रहेको लामो पसलकोठा पन्छाएर परालमाथि म्याट र राडी ओक्ष्याई पाँच भाइ पूर्व सिरानी र पाँच भाइ दक्षिण सिरानी बनाएर सुतेका थियौँ । जेठको गर्मीको रात भए पनि पहाडको फेदी, चिसाङको मिठो हावा चल्दा कछाड मात्रै पहिरिएका हामी क्रियापुत्रहरूको सुताइ आनन्दकै थियो ।
यस्तैमा मेरो सबैभन्दा नजिकमा सुत्ने ७ नं. लखन्तरे भाइले तिघ्रामा चिसो बस्तु सलललल हिँडेको महसुस गरेछ । त्यो बस्तु उसका गोडा पार गर्दै म सुतेतिर जानेबित्तिकै एक्कासि चिच्यायो “ए सर्प सर्प” । सबैजना कहाल्लिँदै उठ्यौँ ।
ठुल्दाइले ” ए कोही नहल्ल है सिधा भएर उभ्भ” भन्नुभयो ।भतिजोले पनि चिच्याउँदै तुरुन्तै बत्ती बाल्यौ । हेर्दा त हामी सुतेको ठिक विपरीत पूर्व सिरानी बनाउने दाजुभाइ भएपट्टि पाँच हात लामो कालो धामन सर्प अतालिँदै भाग्नेबाटो खोजिरहेको रहेछ । सबैले एकैपटक भने ” ए ए धामन धामन ” “नचलाऊ है कसैले पनि” ।
यसपछि त्यही परालले विस्तारै धपाउँदै ठुल्दाजुले ढोकाबाट बाहिर पठाउनु भयो । सर्प कोठेबारीतिर लाग्यो । भएछ के भनेँ लखन्तरेबाट क्रस गरेर म जन्तरेमाथि चढेछ सर्प । तर पातलो कम्बल ओढेर सुत्ने मेरो बानीले सर्पलाई भित्र घुस्न दिएनछ ।
आत्तिएर उभिँदा पनि म कम्बल च्यापेर नै उभिएँछु । सर्प कम्बलबाट झट्कारिएर अर्कोतिर उछिट्टिएछ । सबैजना सँगसँगै उभिइसकेका हुनाले ऊ मान्छे माथि नपरेर भित्तातिर पल्टिएछ । भरे सम्झिँदा पो सबैका मन डराए । मैले कम्बल ओड्दा “यो लिक्तेलाई जहिल्यै जाडो हुन्छ” भनेर दाजुहरूले हप्काउँथे । त्यसदिन मैले भनेँ “हे राम ! धन्न कम्बल ओढेँछु” ।






