काठमाडौं । नेपाली कांग्रेसले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर बनाइएको नक्सासहितको निशान छाप संविधानको अनुसूचीमा राख्ने संविधान संशोधन प्रस्तावलाई समर्थन गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयकको पक्षमा मतदान गर्नका लागि कांग्रेस केन्द्रीय समिति बैठकले नै निर्णय गरेको भन्दै कांग्रेस संसदीय दल विधेयकको पक्षमा रहेको बताए ।
प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेलगत्तै सुरु भएको छलफलमा खाँणले लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालकै भएको बताए ।
भारतले लिम्यिाधुरा,लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्दा कांग्रेसले विरोध गरेको र सो भूमि समेटेर नक्सा जारी गर्न सरकारलाई दबाब दिँदै आएको भन्दै उनले सरकारले ल्याएको विधेयक सकारात्मक रहेको भन्दै समर्थन गरेको बताए ।






