काठमाडौं । नेपाल कम्युष्टि पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेपछि प्रतिपक्ष दल कांग्रेस र जनता समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ ।
दुई बर्षदेखि विवादित बन्दै आएको नागरिकता विधेयकको बारेमा नेकपाले विवाह गरेर आउने बुहारीलाई सात बर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको हो ।
आज बसेको सचिवालय बैठकले नागरिकता विधेयक टुंगो लगाउने गरी निर्णय गरेसँगै कांग्रेस र जसपाले कडा आपत्ति जनाएका छन् ।
जसपाले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताउदै नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको आरोप लगाएको छ ।
जसपाका नेता राजकिशोर यादबले नेकपाले गरेको निर्णय मान्य नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘विवाह गरेको सात बर्षपछि मात्र बुहारिलाई अंगिकृत नागरिकता दिने निर्णय अवैज्ञानिक छ, यो कुनै पनि हालतमा मान्य हुन सक्दैन ।’
राज्य व्यवस्था समितिले यही मंगलवार पाँच दिनभित्र सहमति जुटाउन राजनीति दलहरुलाई आग्रह गरेको थियो ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राज्य व्यवस्था समितिका सभापति शशि श्रेष्ठ सहितका नेताहरुसँग नागरिकता विधेयकको बारेमा परामर्श गर्नुभएको थियो ।
लगत्तै आज बसेको सचिवालय बैठकले सात बर्षेपछि मात्र बुहारीलाई अगिकृत नागरिकता दिने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका सांसद राजन केसीले नेकपाको निर्णय व्यवहारिक नभएको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो,‘विवाह गरेर आएकी बुहारीलाई सात बर्षपछि मात्र अंगिकृत नागरिक दिने कुराले विवाद समाधान हुँदैन, सात बर्षसम्म बालबच्चाको जन्म दर्ता गर्न पाइदैन, विवाह गरेर आएपनि नागरिकता नहुँदा भिसा थपेर ती बुहारी नेपालमा बस्ने अवस्था बन्छ त ? ’