काठमाडौं : सोमबार बिहान विहान ८ः२० मा काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि विराटनगर एयरपोर्ट पुगेर पनि अवतरण हुन नसकी काठमाडौं फर्कियो।
बुद्ध एयरको ९–एन–एएनआई कल साइन र उडान नम्बर यू४–७०१ उक्त जहाजमा ७३ जना यात्रु र ४ क्रू मेम्बरसहित ७७ जना सवार थिए। जहाज काठमाडौं बाट जब विराटनगर एयरपोर्ट पुग्न लाग्यो तब एयर होस्टेसले जहाज विराटनगर एयरपोर्ट नजिक आइपुगेको र केहीबेरमा अवतरण हुने यात्रुलाई जानकारी गराइन्।
एयर होस्टेसले अवतरण हुन लागेको भनेपछि पनि जहाज विराटनगरको आकाशमा होल्ड भइरह्यो। यात्रुले जहाज ल्याण्ड नहुनुको कारणबारे सोध्न थाले। एयर होस्टेसले सामान्य प्राविधिक समस्या आएकाले जहाज ल्याण्ड नभएको र केही बेरमा ल्याण्ड हुने बताइन्। एयर होस्टेसले त्यसो भनिरहँदा अर्को विमान विराटनगर एयरपोर्टमा ल्याण्ड भइसकेको थियो। १०/१५ मिनेटसम्म घुमेपछि पनि जहाज ल्याण्ड भएन। त्यसपछि एयर होस्टेसले काठमाडौं फर्कन लागेको जानकारी यात्रुलाई गराइन्।
जहाजमा देखिएको प्राविधिक समस्या समाधान गर्ने प्राविधिक काठमाडौंमा रहेको र सोही कारण जहाज काठमाडौं फर्कन लागेको एयर होस्टेसले बताइन्। जहाज काठमाडौं फर्किएपछि पनि जहाज तत्काल ल्याण्ड भएन। त्यसपछि के भयो ? सोही विमानमा रहेका यात्रु विकास मिश्रको अनुभव उनकै शब्दमा ।
काठमाडौंस्थित सामसुङ नेपालमा कार्यरत म कार्यालय प्रयोजनकै लागि विराटनगर जान लागेको थिएँ । काठमाडौंबाट सहजै उड्यौं। विराटनगर एयरर्पोट आइपुग्न लागेको र केही बेरमा ल्याण्ड हुने सूचना एयर होस्टेसबाट भयो । बिराटनगर एयरपोर्ट माथि पुगेपछि पनि १०/१५ मिनेट जहाजले घुमायो। त्यही बीचमा अर्को जहाज ल्याण्ड भइसकेको थियो । तर, यो विमान किन घुमाइराखेको हो भनेर सोध्यौं । एयर होस्टेस बैनीले सानो टेक्निकल समस्या हो, आत्तिनुपर्दैन, एक छिनमा ल्याण्ड हुन्छ भन्नुभयो । तर, ल्याण्ड भएन । केही समयपछि एयर होस्टेसले हामी काठमाडौं फर्किन लागेको सूचना दिनुभयो । प्राविधिक काठमाडौंमा भएकाले काठमाडौंमा फर्किन लागेका छौं भन्नुभयो ।
काठमाडौं आइसकेपछि पनि जहाजले धेरै फन्को लगायो । धेरै बेर आकाशमै होल्ड भयो । त्यो बेलासम्म खासमा के भएको हो भन्ने कुनै जानकारी दिइएन । के कारणले विमान होल्ड भइरहेको छ भन्ने कुरा भन्नुभएन । सायद यात्रु आत्तिन्छन् भनेर पनि केही नभनिएको होला ।
जब काठमाडौं एयरपोर्ट माथि आइपुग्यौं, हामीले देख्यौं की एयरपोर्टमा भोलेन्टियरहरु, एम्बुलेन्स, दमकल, सुरक्षाकर्मीलगायत सबै रहेछन् । त्यो दृश्य देखेपछि हामी खतरापूर्ण अवस्थामा रहेछौं भन्ने भयो ।
विराटनगरमा केही फन्को लगाउँदा र प्राविधिक समस्या आएकाले काठमाडौं फर्कन लागेको भन्दासम्म यात्रु खासै डराउनुभएको थिएन । तर, जब काठमाडौं एयरपोर्टमा जुन दृश्य हामीले माथिबाट देख्यौं त्यसपछि कोही यात्रु रुनथाल्नुभयो, आत्तिनुभयो । के भएको हो ? किन ल्याण्ड नगरेको हो ? भनेर यात्रुहरु भन्न थाल्नुभयो ।
माथि जहाज उडिरहेको बेलामा म डराइन । सामान्य प्राविधिक समस्या भएको होला भन्ने भयो । तर, जब काठमाडौं एयरपोर्टको दृश्य देखें त्यसपछि म पनि धेरै डराए, आत्तिए । काठमाडौं फर्किएपछि पाइलटले सुरक्षित रुपमा अवतरण गराइदिनुभयो, उहाँलाई धन्यवाद छ ।
काठमाडौंदेखि विराटनगर उडेको बुद्ध एयरको उक्त जहाज दुई घण्टा बढी समय आकाशमा फन्को मारेर काठमाडौं फर्किएको थियो । विराटनगर एयरपोर्ट नजिक पुगेर ल्याण्ड गर्न खोज्दा ल्याण्डिङ गियर नखुलेपछि केही समय विराटनगर एयरपोर्टमा फन्को मारेको थियो । केही समयसम्म ल्याण्डिङ गिएर खुलाउन पाइलट आङगेलु शेर्पाले निकै प्रयास गरे तर सफल भएनन् । त्यसपछि उनले जहाजलाई काठमाडौं फर्काउने निर्णय गरे ।
काठमाडौं एयरपोर्ट माथि आइसकेपछि पनि ल्याण्डिङ्ग गिएर केही समय खुलेन । “केही समयको प्रयासपछि ल्याण्डिङ्ग गिएर खुल्यो र जहाज सामान्य अवस्थामा ल्याण्ड भयो” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने । उनका अनुसार यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनका लागि काठमाडौं एयरपोर्टमा करिब २४ मिनेट जहाज होल्ड भएको थियो । त्यो समयसम्म विमानस्थल कार्यालयले आकस्मिक अवतरणका लागि चाहिने सबै तयारी पूरा गरिसकेको थियो ।
बुद्ध एयरले विराटनगरमा ल्याण्ड गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको र टावरले पनि गियर नझरेको बताएपछि जहाजलाई पाइलटले काठमाडौं फर्काउने निर्णय गरेको जनाएको छ । जहाज काठमाडौं फर्किएपछि पाइलटले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर जाँच गर्दा सही र झरेको जानकारी पाइलटलाई गराएको र जहाजलाई ‘नर्मल’ अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको बुद्ध एयरले जनाएको छ ।
विमानस्थलका अनुसार उक्त जहाज पार्किङस्थलमा राखिएको छ ।






