काठमाडौं : चलचित्र र रंगमञ्चको पर्दामा धेरै दर्शकले रुचाइने अभिनेता विपिन कार्कीले अभिनयवाहेक नयाँ कामको सुरुवात गर्ने संकेत गरेका छन्।
हरेक चलचित्रमा फरक–फरक पात्रलाई जिवन्त रुपमा निभाउने उनी आफूलाई अभिनयभन्दा वाहेकको विधामा देखिए अचम्म नमान्न आग्रह गर्छन्। “अभिनय छोड्ने योजना छैन। तर, अरु काम गरिन्न् भन्ने चाँहि छैन। अभिनय गरिरहँदा भोलिको दिनमा अभिनय बाहेकका अरु विधामा हात हालेँ भने अचम्म नमान्नु भए हुन्छ,” विपिनले भने। उनको यो कुराले प्रस्ट्याउँछ कि उनी केही नयाँ यात्राको थालनी गरिरहेका छन् ।
यद्यपि, उनले के गर्ने त्यो भने स्पष्ट पारेका छैनन् । तर, केही वर्ष अगाडि देखि उनी एउटा पुस्तक भने लेखिरहेका छन्। आफूले चलचित्रमा निभएको चरित्रको खोजी र निर्माणमा रहेर उनले पुस्तक लेखिरहेका छन्। बुक हिलको आग्रहमा उनले किताव लेख्न थालेका छन्। “किताव लेख्ने काम भइरहेको छ। केही च्याप्टर लेखि पनि सकेको छु। तर, यसमा मैले हतार गरिरहेको छैन। मन लागेको बेलामा लेखिरहेको छु,” विपिन भन्छन्, “समयसीमा भित्र बाँधिएर लेख्दिन। फुर्सद र मुड आएका बेला लेख्ने हो।”






