Home / Nepal / News / ह्‌वाइट हाउसबाट बिदा हुँदै ट्रम्पले भने, ‘हामी जे गर्न आएका थियौं त्यो गरेर जाँदै छौं’

ह्‌वाइट हाउसबाट बिदा हुँदै ट्रम्पले भने, ‘हामी जे गर्न आएका थियौं त्यो गरेर जाँदै छौं’

बीबीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्‌वाइट हाउसबाट बिदा हुनुअगाडिको अन्तिम सम्बोधनमा आफूहरुले जे गर्ने भनेर आएको त्योभन्दा धेरै कुरा गरेर जान लागेको बताएका छन्।

युट्युबमा पोस्ट भएको भिडियोमा उनले अत्यन्तै कठिन लडाइँहरु लडेको र धेरै अफ्ठ्यारा चुनौतीहरुको सामना गरेको तर यसैका लागि सबैले उनलाई निर्वाचित गरेको बताएका हुन्।
ट्रम्पले भनेका छन्, “हाम्रो एजेन्डा, लेफ्ट या राइट, रिपब्लिकन या डेमोक्रेट भन्ने थिएन, देशका लागि के राम्रो भन्ने मात्र थियो पूरै देशको हितमा मात्र थियो। ” कार्यालय छाड्दै गर्दा ट्रम्पको लोकप्रियता ३४ प्रतिशत रहेको छ जुन बिदा हुने राष्ट्रपतिहरुमा अहिलेसम्मकै कमको रेकर्ड भएको बताइएको छ।

यसरी ट्रम्प कार्यकालका अन्तिम दुई साता संसद् भवनमाथि भएको आक्रमणका विषयमा केन्द्रित रह्‍यो। भिडियोमा ट्रम्पले यसबारे पनि बोलेका हुन्, “राजनीतिक हिंसा भनेको अमेरिकीहरुले प्रेम गर्ने सबै थोकमाथिको आक्रमण हो र त्यस्तो कहिल्यै सह्‍य हुनेछैन।”

अमेरिकामा पछिल्ला दिनका राजनीतिक घटनाहरुले बढ्दो कोरोना संक्रमण र मृत्युदरलाई पनि छायामा पारेको थियो। तर ट्रम्पले यसबारे केही उल्लेख गरेनन् र आफ्नो प्रशासनले विश्व इतिहासमै ठूलो अर्थतन्त्र निर्माण गरेको दाबी गरेका हुन्।

ट्रम्पमाथि जारी गरिएको महाअभियोगसम्बन्धी आगामी बुधबार नै उनले सिनेटहरुका सामु ट्रायलको सामना गर्नुपर्ने हुन्छ। दुईपटक महाअभियोग लाग्ने उनी अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *