काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको सम्भावित तेस्रो लहर आउनुअगाडि नै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
कोरोनाका विषयमा आज स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीहित गृह मन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसको तयारीका लागि सीमाक्षेत्रमा खोप लगाउन तथा होल्डिङ सेन्टरहरू निर्माण गर्न निर्देशन दिएका हुन्।
“कोरोना नियन्त्रण चुनौतीपूर्ण छ, त्यसका लागि सबैको सहकार्य र समन्वय आवश्यक छ,” बैठकमा खाँणले राखेको धारणामा भनिएको छ, “तेस्रो वेभ आउन अघि हामीले अहिलेदेखि नै तयारी अवस्थामा रहनुपर्दछ ।”
गृहमन्त्री खाँणले त्यसका लागि विभिन्न गृहकार्य अघि बढाउन निर्देशन दिए । “सीमामा.होल्डिङ सेन्टर निर्माण सन्तोषजनक छैन, यसलाई तीव्रता दिनु जरुरी छ,” खाँणले भने, “बोर्डरमा कोरोना खोप लगाउने व्यवस्था मिलाउन म स्वास्थ्य राज्यमन्त्रीज्यूलाई आग्रह गर्दछु ।”
उनले अहिलेदेखि नै सबै सरकारी अस्पतालमा अक्सिजन व्यवस्थापन आवश्यक भएको भन्दै त्यसका लागि लिक्विड ट्यांक उपयोगी हुन सक्ने बताएका थिए । कोरोना नियन्त्रण गर्नु राज्यको दायित्व भएको भन्दै राज्यका सबै संयन्त्रहरु सक्रिय हुनुपर्ने पनि बताए ।
“कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँगको समन्वयमा काम गर्र्नु आवश्यक आवश्यक छ,” खाँणाले भने, “गृह मन्त्रालय आवश्यक व्यवस्थापनको पाटोमा सहजीकरण गर्नेछ ।” उनले कोरोना नियन्त्रणका लागि मास्क लगाउन अभिप्रेरित गर्नुपर्ने भन्दै त्यसका लागि विभिन्न संघ–संस्थासँग सहकार्य गर्नुपर्ने बताए ।
बैठकका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गृह प्रशासनबाट सहयोगको अपेक्षा गरेको भन्दै स्वास्थ्य मन्त्रालयले केही तयारी अघि बढाएको जानकारी गराएका थिए । “सरकारी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारी गरेका छौँ । नेपाल–भारत सीमाक्षेत्रमा भ्याक्सिन लगाउने व्यवस्था पनि मिलाउँदैछौँ,” स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने, “कोरोना खोप लगाउने कार्यलाई व्यवस्थित गर्न टोकन व्यवस्था गर्ने र खोप केन्द्र बढाउने नीति बनाएका छौँ ।”
उनले फाइजरको ४० लाख खोप किन्ने प्रबन्ध गर्दै गरेको भन्दै एक हप्ताभित्र १६ लाख चिनियाँ र १६ लाख जापानी गरी ३२ लाख खोप आउँदै गरेको जानकारी दिए ।
“कोरोना नियन्त्रणका लागि सयदिने योजना बनाउने तयारीमा छौँ,” राज्यमन्त्री श्रेष्ठले भने, “त्यसका लागि निजी मेडिकल कलेज र अस्पतालहरुसँग पनि समन्वय गर्दै छौँ ।”






