Home / Politics / नेपाल एक चीन नीतिको पक्षमा प्रतिबद्ध : प्रचण्ड

नेपाल एक चीन नीतिको पक्षमा प्रतिबद्ध : प्रचण्ड

काठमाडौं । ताइवान मामलामा चीनले नेपालको साथ खोजिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिको पक्षमा अविचलित रहेको बताएका छन्
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको ९९ वर्ष पूरा भएको र नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा नेकपा र सीपीसीबीच भिडियो कन्फ्रेन्स भएको थियो ।

“नेपाल र चीनबीच वर्षौं पुरानो सम्बन्ध छ । सम्बन्धमा विविध आयाम पनि छन् । हामी नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन दिँदैनौं । एक चीन नीतिको पक्षमा अडिग छौं,” प्रचण्डले भिडियो अन्तक्रियामा भनेको कुरा स्थायी कमिटी सदस्य तथा पार्टी स्कुल विभाग उपप्रमुख बेदुराम भुसालले उद्धृत गरे ।

चीनले नेपालको विकासमा सघाइरहेको र आगामी दिनमा यसले निरन्तरता पाउनेमा आशावादी रहँदै सीपीसीको स्थापना भएको ९९ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश दिएका थिए ।

स्कुल विभाग प्रमुख, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरेलले नेपाल सरकार कोरोना नियन्त्रणका लागि लागिपरेको र सरकारको प्रयास प्रभावकारी भइरहेको बताएका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारबाट पनि सहयोग प्राप्त भइरहेकाले कोरोना नियन्त्रणमा सफल हुने विश्वास व्यक्त गरेका थिए ।

स्कुल विभागमा उपप्रमुख भुसालले नेपाल–चीन, नेपाल–तिब्बतबीच १६ सय वर्ष पुरानो सम्बन्ध रहेको बताउँदै यस्ता संवाद, कन्फ्रेन्सले नवीकरण गर्ने बताएका थिए । नेपाल–तिब्बतबीच ईशापूर्व ४०५ देखि सम्बन्ध रहँदै आएको भुसालले बताएका थिए ।

कन्फ्रेन्समा तिब्बत स्वशासित कमिटीले पनि तिब्बती विकासको मोडालिटी पनि देखाएको थियो । यस्ता कार्यक्रममा चीन सरकारले आफ्ना विकासका गतिविधि नै देखाउने गरेको भुसाल बताउँछन् ।

“मैले विकासका गतिविधिबारे नेकपाका नेता–कार्यकर्तालाई जानकारी गराएको, दुई कम्युनिस्ट पार्टीबीच आपसी सम्बन्ध विस्तार भएकोमा, चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको ९९ वर्ष र नेपाल–चीनबीच सम्बन्ध स्थापित भएको ६५ वर्ष पूरा भएको अवसरमा शुभकामना दिएँ,” भुसाले बाह्रखरीसँग भने ।

भुसालका अनुसार पार्टी स्कुल विभागको नेतृत्वमा सातै प्रदेशका नेकपाका नेता–कार्यकर्ता चीन भ्रमणमा जाने र चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण लिने तय भएको थियो । चैतको पहिलो साता जाने तयारी थियो । तर, कोरोनाले बिथोलेपछि कार्यक्रमलाई भिडियो कन्फ्रेन्समा बदलिएको भुसालको भनाइ छ ।

“सुरुमा अध्यक्ष प्रचण्डकै नेतृत्वमा जाने तयारी थियो । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि स्कुल विभाग प्रमुखको नेतृत्वमा जाने तय भएको थियो । पछि कोरोनाको कारण रोकियो ।

त्यही टोलीसँग आज भिडियो कन्फ्रेन्स भएको हो,” उनले भने, “आजको कार्यक्रम कार्यशाला होइन । विशुद्ध शुभकामनाक आदान–प्रदान र तिब्बतको विकासको झलक हेर्ने थियो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने कुराकानी भएको छ । कोरोना रोकिएपछि आज सहभागी भएको समूहलाई चीन आमन्त्रण गर्ने बताएका छन् ।”

उनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले स्कुल विभाग सहकार्य गर्न रुचाएको बताए । उनले एउटा विभागको जानकारी अर्को विभागलाई गराउने अभ्यास, विधि नरहेकाले विदेश विभागले जानकारी नपाएको हुन सक्ने बताए । विदेश विभागले निम्तै नपाएको भन्दै असन्तुष्टि जनाएको थियो ।

“हाम्रो पार्टी प्रणाली अनुसार एउटा विभागको जानकारी अर्को विभागलाई दिनुपर्दैन । सीधै सचिवालयलाई दिने हो । त्यही भएर जानकारी भएन होला । फेरि आज सहभागीहरू पूर्व निर्धारित हुन्,” भुसालले भने ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *