काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजराइल चेम्बर अफ कमर्सले दुई देशबीच आर्थिक सम्बन्ध सुदृढ बनाउन समझदारी गरेका छन्।
नेपाली राजदूत अन्जान शाक्य तथा नेपालस्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको दुवै पक्षका पदाधिकारी तथा इजराइलस्थित उपस्थितिमा भर्चुअलमार्फत समझदारी गरिएको हो। नेपाल चेम्बर अफ कमर्सका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेसन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन्।
नेपाल र इजराइलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका अग्रणी संस्थाबीच भएको समझदारी महत्त्वपूर्ण रहेको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए। उनले यस समझदारीबाट दुई देशबीच आर्थिक सम्बन्ध सुदृढ हुने बताए।
इजराइलका राजदूत वर्गरले नेपाल पर्यटकीय सम्भावना भएको मुलुक भएको उल्लेख गर्दै साहसिक पर्यटनका लागि इजराइली पर्यटकको उपयुक्त गन्तव्य भएको बताए। हालसम्म नेपाल चेम्बरले विभिन्न ७० देशका विभिन्न चेम्बरसँग समझदारी गरिसकेको जनाइएको छ।






