Home / Nepal / News / निर्वाचनमा केन्द्रित हुन गृहमन्त्रीद्वारा सुरक्षा निकायलाई निर्देशन

निर्वाचनमा केन्द्रित हुन गृहमन्त्रीद्वारा सुरक्षा निकायलाई निर्देशन

गृहमन्त्री रामबहादुर थापाले मुलुक प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित भइसकेको भन्दै निर्वाचन सुरक्षाको लागि आवश्यक तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा भएको बैठकमा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक परिस्थिति असहज भए पनि सरकार मध्यावधि निर्वाचनको तयारी गरिरहेको छ।

थापाको अध्यक्षतामा सोमबार अर्थमन्त्री विष्ण पौडेल, गृहसचिव महेश्वर न्यौपाने र तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको बैठक बसेको थियो।

बैठकमा थापाले सुरक्षा निकायलाई आगामी बैशाख १७ र २७ गते निर्वाचन गर्ने सरकारको घोषणा रहेकाले सोहीअनुसार तयारी गर्न निर्देशन दिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताए।

बैठकमा सुरक्षा निकायका प्रमुखले मौजुदा स्रोतसाधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोतसाधनको सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए।

बैठकमा अर्थमन्त्री पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययीतालाई ध्यान दिएर केन्द्रित बजेट प्रस्ताव गरी गृह मन्त्रालयमार्फत पठाउन निर्देशन दिएका थिए।

गृहले निर्वाचनको पक्षमा माहोल बन्दै गइरहेको दाबी गर्दै लोकतान्त्रिक अभ्यासमा संलग्न हुन सबै राजनीतिक दल र सरोकारवालालाई गतिविधि सञ्चालन गर्दा शान्तिपूर्ण ढंगले गर्न गराउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *