उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–२, खैजनपुरगाउँमा कोरोना संक्रमणबाट एकै परिवारको तीनजनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।
संक्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ ‘सिल’ गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम सुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले संक्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए।
संक्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण–पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ । गाउँ सिल गरेसँगै बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको र सो समयबाहेकका समय पूर्ण रूपमा ‘लकडाउन’ गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए । रासस






