लहान : सिरहाको मिर्चैया नगरपालिका–९ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मिर्चैया–८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ निवासी ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादव छन्।
मिर्चैया–९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाबाट लुकाइछिपाइ राखिएको करिब २५ किलो गाँजासहित तीनैजनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार सो क्रममा प्रहरीले स६प ३८६५ नम्बरको डिस्कोभर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार रहेका रणबहादुर श्रेष्ठको खानतलासी भइरहेको प्रहरीले जनाएको छ।






