काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट धावनमार्ग जाने क्रममा घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकालिएको छ।
विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारीहरूले गल, गैँतीलगायत उपकरण प्रयोग गरी धसिएको पांग्रालाई माथि उठाएर बाहिर निकालेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
घाँसे मैदानबाट बाहिर निकालिएको उक्त जहाजको नेपाल नागरिक उड्डयन प्राधिकरण एवं श्री एयरलाइन्सका प्राविधिकहरूले चेकजाँच गरिररहेको तिवारीले बताए।
९ एन एएनएफ कलसाइनको क्यू ४००–८ जहाज मंगलबार काठमाडौंबाट नेपालगन्ज जाने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा चिप्लिएको थियो । उक्त जहाजमा चालक दलसहित ८० जना सवार थिए।
जहाजमा कुनै क्षति नभए पनि ह्वील परिवर्तन गर्ने काम भइरहेको बताइएको छ ।






