Home / Politics / शान्ति सुरक्षा र अमनचयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय छ- गृहमन्त्री खाँण

शान्ति सुरक्षा र अमनचयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय छ- गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षा, अमनचयन र विधिको शासनमा नेपाल प्रहरीको भूमिका अतुलनीय रहेको बताएका छन्।

६६औँ प्रहरी दिवस समारोहमा बुधबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेका गृहमन्त्री खाँणले जीवनको ऊर्जाशील समयमा राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा कायम गर्न लागि पर्ने प्रहरीको प्रशंका गरेका हुन् ।

“शान्ति सुरक्षा र अमनचयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय छ,” उनले भने, “जीवनको ऊर्जाशील समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागि पर्ने प्रहरीहरूप्रति मेरो सम्मान छ ।”

उनले सरकारले नीतिगत निर्णय गर्दा हुने विरोधमा सबैभन्दा पहिला विरोधीको निसानामा ड्युटीमा रहेका प्रहरी पर्ने गरेको बताएका थिए ।

गृहमन्त्री खाँणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई कसरी आधुनिकीकरण गर्ने र समयसापेक्ष बनाउने भन्ने विषयमा सरकार लागिरहेको बताए । जनताको जीवनरक्षा राज्यको पहिलो दायित्व रहेको र त्यसमा प्रहरीको अहिलेसम्मको काम प्रशंसनीय भएको उनको भनाइ थियो । प्रहरीलाई साधन–स्रोत सम्पन्न गराई कर्तव्यनिष्ठ संगठन बनाउनेमा पहिले गृहमन्त्री समेत भइसकेका प्रधानमन्त्रीको पनि प्राथमिकता रहेको खाँणले बताए ।

उनले कर्तव्य पालनाको सिलसिलामा जीवन गुमाएका अमर प्रहरी परिवारसँग सरकार सधैँ समीपमा रहने आश्वासन दिए ।

प्रहरी दिवस समारोहमा यस वर्ष कर्तव्य पालनाको सिलसिलामा जीवन गुमाएका ३३ प्रहरीका परिवारलाई सम्मान गरिएका थियो । ती मध्ये सातजनालाई काठमाडौंबाट र २६ जनालाई विभिन्न प्रदेशमा प्रहरीले सम्मान गरेको प्रहरीले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट पूर्वप्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *