Home / Nepal / News / महोत्तरीमा बन्दुक देखाएर लाखौँको गरगहना लुटपाट

महोत्तरीमा बन्दुक देखाएर लाखौँको गरगहना लुटपाट

जलेश्वर : महोत्तरीको जलेश्वर नगरपालिका–९, फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाएर लाखौँको लुटपाट गरेको छ।

स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी चारजनाको समूहमा आएका बन्दुकधारी व्यक्तिले गरगहना लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

लुटेराले उनको घरबाट नाकको फुली दुईथान, सुनको बाला, सुनको सिक्रीसहित पाँच लाख रुपैयाँ बढीको गरगहना लुटेर लगेको जनाइएको छ।

घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले अहिले लुटेराको खोजतलास गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *