Home / Nepal / News / राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विरगन्जकी मुस्कान खातुनलाई बधाई दिएकी छिन्।

खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने इन्टरनेशनल वुमन अफ इन्करेज अवार्ड पाएकोमा भण्डारीले शनिबार ट्विटरमार्फत बधाई दिएकी हुन्।

“एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद,” उनले ट्विटरमा लेखेकी छिन्।

सो अवार्ड पाउने १५ वर्षीया खातुन पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन विश्वकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन्।

खातुनले आफूमाथि घटेको दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर खातुनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजाय दिने कानुन निर्माणका लागि आग्रह गरेकी थिइन्। त्यसको केही महिना पछि सरकारले अपराधीलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *