धनगढी : कैलालीको गौरीगङ्गा नगरपालिकाले पछिल्लो समय देशमा महिला हिंसाका घटना बढिरहेकाले किशोरी आत्मरक्षा तालिम सञ्चालन गरेको छ।
नगरपालिकाले शुक्रबारदेखि तीन माध्यमिक विद्यालयमा एकैसाथ शुरु गरेको तालिममा सक्षम छोरी अभियानले सहजीकरण गरिरहेको छ। पालिकाले वडा नम्बर ८ स्थित जनप्रिय माध्यमिक, वडा नम्बर ४ स्थित कालिका माध्यमिक र वडा नम्बर १ स्थित मालिका माध्यमिक विद्यालयमा गरी १५० किशोरीलाई सहभागी गराई तालिम शुरु गरिएको हो
समाजमा हुने महिला हिंसामा कमी आउनाका साथै महिला तथा किशोरीको आत्मविश्वास बढ्दा उनीहरू समाजका हरेक स्थानमा पहुँच बढाउन सफल हुने भएकाले तालिम आवश्यक रहेको सक्षम छोरी अभियानका सहजकर्ता शिवराज रिमालले बताए।
आत्मरक्षा तालिमबाट किशोरीहरू निकै उत्साहित देखिन्छन्। आफूहरूमाथि समाजमा विभिन्न किसिमका हिंसा हुने गरेकामा तालिमबाट त्यस्ता हिंसाको प्रतिकार गर्न सिकेकाले आफूले आफूलाई सुरक्षित महसुस गरेको सहभागी दिलमाया राना मगरले बताइन्।
नगरपालिका उपप्रमुख अञ्चला चौधरीले किशोरी तथा महिलामाथि नजीकैको वा आफन्तैबाट नजानिँदो पाराले दुव्र्यवहार तथा हिंसा हुने गरेका कारण आत्मरक्षा तालीमले शुुरुमा उनीहरूलाई गलत छुवाइ र त्यस्ता किसिमका हिंसाबाट बच्न सिकाउने बताइन्।






