काठमाडौं : काठमाडौंको आज विहान साढे ६ बजेको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस मापन गरिएको छ। आज दिउँसो काठमाडौंको तापक्रम १७–१९ डिग्री सेल्सियस रहि दिउँसो मौसम सफा रहने छ।
मौसमविद् मञ्जु वासीका अनुसार तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेका कारण सवारी साधान सञ्चालनमा कठिनाइ हुँदै आएको छ। कतिपय विमानस्थलमा न्यून भिजिविलिटीका कारण हवाई यातायातसेवा समेत प्रभावित हुँदै आएको छ। २५ सय मिटरभन्दा कम भिजिविलिटी भएको अवस्थामा विमान उडान तथा अवतरणमा अवरोध आउँछ। अधिकांश जिल्लामा अपराह्नदेखि दिउँसो २ बजेसम्म हुस्सु हटे पनि केही जिल्लामा भने साँझसम्म रहने सम्भावना रहेको छ ।
आज दिउँसो प्रदेश न. १ को पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपाको संभावना रहेको छ।
पश्चिमी वायुको प्रभाव कम भएका कारण यो वर्ष अहिलेसम्म पानी परेको छैन र जाडो पनि कम भएको छैन। अझै केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जुको भनाइ छ। “पश्चिमी वायुको प्रभावले हिउँदमा जति पानी पर्नुपर्ने थियो, परेको छैन। पानी नपरेका कारण राजस्थान तथा पश्चिमबाट आउने वायुमा चिसोको मात्रा बढेर आइरहेको छ। त्यसैले चिसो बढिरहेको छ,” मौसमविद् मीन अर्याल भन्छन्, “पानी परेको भए पश्चिमी वायुमा चिसोको मात्रा कम हुन्थ्यो। र, वायुमण्डल पनि सफा भएर सूर्यको किरण पृथ्वीमा राम्रोसँग आउन पाउँथ्यो।”






