Home / Nepal / News / काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस,भोलिबाट हिमपात र वर्षाको सम्भाना

काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस,भोलिबाट हिमपात र वर्षाको सम्भाना

काठमाडौं : काठमाडौंको आज विहान ५ः४५ बजेको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो काठमाडौंको तापक्रम १७–१९ डिग्री सेल्सियस रहने छ भने मौसम सफा रहने छ।

मौसमविद् समिर श्रेष्ठका अनुसार तराईमा बाक्लो हुस्सुु लागेको छ। जसका कारण तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। पूर्वी तराईमा लागेको हुस्सु साँझसम्म रहने तर पश्चिम तराईमा अपरान्ह्पछि हट्दै जानेछ।

उनका अनुुसार भोलिबाट मौसमा बदली सुरु हुनेछ। उक्त बदलीसँगै हिमपात र वर्षा हुने श्रेष्ठको भनाइ छ। उक्त मौसमी प्रणाली पूर्व सर्ने क्रममा शुक्रबार प्रदेश २ का केही र अन्य प्रदेशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। हाल पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली भोलिबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशको पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ।

शनिबार यो प्रणालीको असर गण्डकी प्रदेश, वागमती प्रदेश, प्रदेश २ र प्रदेश १ मा रहनेछ। यी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ। प्रदेश १ मा हल्का वर्षाको सम्भावना रहेको जनाएको विभागले प्रदेश १ का हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको बताएको छ। शनिबार रातिबाट क्रमिक रुपमा मौसममा सुधार हुने विभागले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *