Home / Politics / सरकारविरोधी प्रदर्शनलाई जनता समाजवादी र साझा पार्टीको समर्थन

सरकारविरोधी प्रदर्शनलाई जनता समाजवादी र साझा पार्टीको समर्थन

काठमाडौँ । देशैभरी जारी सरकारविरोधी प्रदर्शनलाई दुई राजनीतिक दल जनता समाजवादी र साझा पार्टीले समर्थन जनाएका छन् । यी दुवै दलले विज्ञप्ति प्रकाशित गर्दै यी आन्दोलानलाई सरकारको असफलताले उठेको आवाजको संज्ञा दिएका छन् ।

ऊनीहरुले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै सरकारको असक्षमता र भ्रष्टाचारविरुद्ध उठेका आवाजका रुपमा आन्दोलनलाई चित्रण गरेका छन् ।

‘ओली सरकारको असफलताविरुद्ध व्यापक जनप्रदर्शनहरु भइरहेका छन् । सरकारले जनताका आवाजलाई सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा सो कार्यको घोर भत्सर्ना गर्छौं,’ जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दमन बन्द गरि जनताका न्यायोचित मागको तुरुन्त सम्बोधन गर्न पनि जसपाले माग गरेको छ ।

कोरोनासँग जुध्न पर्याप्त समय भएपनि सरकारले फोहोरी राजनीतिक खेल तथा आफ्ना असक्षमता र भ्रष्टाचार छोप्न झन्डै तीन महिना लकडाउनमा समय व्यतित गरेको आरोप साझा पार्टीले लगाएको छ ।

‘अति भएपछि नागरिकहरू देशभरी सडकमा उत्रिएका छन्। नागरिक प्रदर्शनमा मूलत: कोरोना रोकथाममा खर्च भएको भनिएको १० अर्ब रूपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने, विश्वसनीय नतिजा नदिने आरडिटी परिक्षण बन्द गरी विश्वसनीय मानिने पीसीआर परिक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन स्थलहरूको गतिलो व्यवस्थापन तथा अनियमिताको छानिवन गर्नुपर्ने माग गरिएको छ, जुन सम्पूर्ण नेपालीको माग हो,’ साझाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उसले सम्पूर्ण नेपालीको आवाजलाई बेवास्ता गरेर सरकारले अझ धम्कीको भाषामा जरिवाना र जेलको चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि दमनको रणनीति अख्तियार गर्नु खेदजनक भएको पनि बताएको छ । साझाले वर्तमान संकटले विविध क्षेत्रमा पारेको तात्कालिक र दीर्घकालिक असरहरूसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न पनि माग गरेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *