Home / Politics / जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने

जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो) संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ ।

प्रतिनिधिसभामा रहेको राजपा र संघीय समाजवादी दल एकता भएर बनेको सो पार्टीले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

जनता समाजवादी पार्टीका  अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्‍मा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरियो ।”

कानु्नमन्त्री शिवमाया तुम्बाहाङ्फेले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूचीमा रहेको निशान छापमा समावेश गर्न सो विधेयक संसद्‍मा दर्ता गराएकी थिइन् । 

अर्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । योसँगै विधेयक सर्वसम्मत पारित हुने बाटो खुलेको छ । 

शनिबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *